काठमाडौं। पूर्वी पहाडको ‘लाइफलाइन’ मेची राजमार्ग जीर्ण अवस्थामा पुगेको छ। यसले सडक दुर्घटनाको जोखिम बढेसँगै पहाडको आर्थिक गतिविधिमा समेत नकारात्मक प्रभाव परेको छ।
ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम फिदिम, इलाम हुँदै झापाको चारआली जोड्ने २६८ किलोमिटर लामो यस सडक धेरै स्थानमा भत्किएको छ। झापाको चारआलीदेखि ७७ किलोमिटर इलामखण्डमा ६० वटाभन्दा बढी गोलाइ छन्। गोलाइ भएको अधिकांश स्थानमा सडक भत्किएको छ।
कात्तिक पहिलो साता आएको पहिरोले सयौं स्थानमा सडक भत्किएका छन्। पहिरो पन्छाएर तत्कालका लागि सडक सुचारु गरिए पनि पूर्ण रूपमा सडक मर्मत नगरिँदा जोखिम बढेको हो। भिरालो जमिनमा गोलाइ भएको साँघुरो सडक भत्केपछि सवारीसाधन सञ्चालनमा पनी समस्या भएको छ।
सडक डिभिजन कार्यालय इलामले मेची राजमार्ग संरक्षण र मर्मतको जिम्मा लिएको छ। सवारी चालकहरुका अनुसार बिग्रिएको सडक मर्मतमा डिभिजन कार्यालयले चासो नदेखाउँदा जीर्ण अवस्थामा पुगेको राजमार्गमा दुर्घटनाको जोखिम बढेको हो।
राजमार्ग जीर्ण बनेपछि पूर्वी पहाडको आर्थिक क्रियाकलापमा समेत समस्या भएको बताइएको छ। अप्ठ्यारो भूगोलमा बनेको राजमार्गमा क्षमताभन्दा धेरै भारवाहन गर्ने गाडी गुडाउनुपर्ने भएकाले सडकमा समस्या थपिएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ।