काठमाडौं। रत्न राजमार्ग फराकिलो बनाइने भएको छ। राजमार्गको दायाँबायाँको क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काएर सडक फराकिलो बनाइने भएको हो।
बाँकेको नेपालगन्जस्थित जमुनाह नाकाबाट कोहलपुरसम्मको २३ किलोमिटर क्षेत्र फराकिलो बनाउन लागिएको हो। राजमार्गका ७ सय ४९ ठाउँमा गरिएको अतिक्रमण हटाउन एकमहिने सूचना जारी गरिएको भएतापनी सो अवधिमा संरचना खाली नगराएपछी बल प्रयोग गरेरै राजमार्ग फराकिलो बनाउन लागिएको हो।
सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ अनुसार २०३४ असार २० मा प्रकाशित राजपत्रमा रत्न राजमार्गअन्तर्गत जमुनाहदेखि कोहलपुरसम्मको २३ किलोमिटर सडक ३१ मिटर चौडा बनाइने भनिएको छ। तर, २०६९ असोज ४ मा मन्त्रिपरिषद् बैठकले अतिक्रमण तथा कब्जा गर्नेलाई संरक्षण गर्दै २५ मिटरभित्र निर्माण गरिएका संरचना मात्र भत्काउन भनेको थियो। त्यतिबेला राजमार्ग विस्तार गर्दा ३१ मिटरभित्र पर्ने सबै संरचना नभत्काइएको तर त्यसयता लगातार अतिक्रमण बढिरहँदा राजमार्ग सानो भई दुर्घटना बढेपछि अतिक्रमित संरचना हटाउने पुनः निर्णय भएको हो।
डिभिजन कार्यालयले भने विभिन्न बहानामा सडक क्षेत्र अतिक्रमण हुँदा सडक साँघुरो हुँदै गएको र त्यसले भोलिका दिनमा समस्या निम्तिने, दुर्घटना बढ्ने, पार्किङको समस्या हुने भन्दै सडक ऐनबमोजिम खाली गर्न सूचित गरेको स्पष्ट पारेको छ। सर्वदलीय बैठक राखेर विवाद नहुने गरी काम गर्नुपर्ने अगुवाहरुको भनाइ रहेको छ।