अछाम । जिल्लाको चौरपाटी गाउँपालिकाको चौखुट्टे र मार्कुबीचमा रहेको सिनेभावरमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । सिनेभावरमा शुक्रबार दिउँसोबाट सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण डोटी–अछाम र बाजुरा जोड्ने सडक बन्द हुँदा अछाम, बाजुरा आउने र बाहिरी जिल्ला जाने यात्रुबाहक तथा मालबाहक सवारी साधन ठप्प भएका छन् । सवारीसधान आवतजावत गर्न नपाएपछि यात्रुहरु अलपत्र परेका छन् ।
डाँडाबाट पहिरो निरन्तर आइरहेकोले सडक सुचारु गर्नमा असहज भइरहेको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले बताए। चौरपाटी, सडक विभाग कार्यालय मिलेर सडक पुनः सञ्चालनका लागि प्रयास गरिरहेको भए पनि माथिबाट पूरै डाँडा खस्लाजस्तो भएका कारण समस्या भएको उनको भनाइ छ ।