काठमाडौं। लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक १५ दिन बन्द हुने भएको छ। यस सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द हुने भएको हो।
मनाङको नासोँ गाउँपालिका वडा नं ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गर्न लागिएको हो। त्यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो। पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकोमा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो।
त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरी समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण सुरु गर्न लागेको हो।