मकवानपुर। बन्दको अवज्ञा गरेको भन्दै हेटौंडामा बन्दकर्ताले बल्कर गाडी (सिमेन्ट बोक्ने गाडी) मा आगजनी गरेका छन्। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले गाडीमा आगजनी गरेका हुन्।
बन्दकर्ताहरुले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेको शिवम् सिमेन्ट उद्योगतर्फ जाने सडकमा रिद्धि सिद्धि सिमेन्ट लेखिएको बल्करमा आगजानी गरेका छन्। रातमाटेबाट रिद्धि सिद्धि सिमेन्ट उद्योग जाने क्रममा शिवम् सडकको पावर हायस नजिक बन्दकर्ताहरुले प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको बल्करमा आगजनी गरेका हुन् । आगजनीबाट बल्करको अगाडीको भाग पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
विप्लव नेतृत्वको नेकपासहित ६ वटा कम्युनिष्ट संगठन र दुई मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन्।