काठमाडौं। भारी हिमपातका कारण एक हप्तादेखि बन्द रहेको मनाङको भित्री सडकखण्डमा आवातजावात सञ्चालन भएको छ। भारी हिमपातपछि पुरिएको सडकको हिउँ पन्छाएपछि सवारीसाधन पुनः सञ्चालनमा आएको हो।
गत फागुन ८ गते आइतबार बिहानदेखि लगातारको हिमपातले जिल्लाको अधिकांश भेगमा बाक्लो हिउँ जमेको थियो। हिउँका कारण सडक अवरुद्ध भएपछि छ दिन लगाएर जिल्लाका सडकका हिउँ हटाएर सवारी आवागमन सञ्चालन गरिएको बताइएको छ।
मनाङ ङिस्याङ गाउँपालिकाको तलेखुदेखि खाङ्सारसम्म हिउँ पन्छाइएको छ। जिल्लाका केही स्थानीयले जेसिबी र जनप्रतिनिधि, प्रहरीको सहयोगमा सडकमा जमेको हिउँ पन्छाएपछि यातायात सञ्चालनमा आएको हो। बन्द रहेको सडक सञ्चालनमा आएसँगै आवतजावतमा सहज भएको छ। सडक लामो समयसम्म हिउँ रहँदा स्थानीयले सास्ती खेप्नु परेको थियो।