तनहुँ। गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण भइरहेको पक्की पुलको कामले गति लिएको छ। तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने पक्की पुलको कामलाई गति दिइएको हो।
कोरोना कहरले विगतमा काममा ढिलासुस्ती भए पनि अहिले कामलाई तीव्र पारिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए। २०७७ जेठदेखि निर्माण शुरू भएको पुलको म्याद चालू आर्थिक वर्षको अन्तिमसम्म छ। हालसम्मको पुलको काम ३७ प्रतिशत सकिएको छ।
‘कोरोना कहरका कारण पुल निर्माणमा ढिलाइ भयो, कोरोनाको प्रभावका कारण निर्माणको काम एक वर्ष थप भएको छ,’ उनले भने। सिग्देलका अनुसार हालसम्म दुईओटा पिल्लरको क्याप बनेको र दुईओटा फाउण्डेसन सकिएको छ। ‘नदी बगेको ठाउँमा डाइभर्सन गरेर मुख्य पिल्लर बनाउनुपर्ने काम भने बाँकी छ,’ उनले भने। २१० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौंस्थित शर्मा जेभी एण्ड युनाइटेड बिल्डर्सले पाएको छ। उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो।