काठमाडौं। तराई/मधेस द्रुत मार्गमा पर्ने सुरुङ मार्गको निर्माण सुरु भएको छ। द्रुत मार्गमा तीनवटा सुरुङ बन्ने डिजाइन गरिएको हो।
द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाका अनुसार द्रुत मार्गको प्याकेज १ र २ को सुरुङ मार्गको डिजाइन सम्पन्न भई स्वीकृतसमेत भइसकेको बताइएको छ।
सुरुङ मार्गका दुइटै प्याकेजको डिजाइन तथा ड्रइङ स्वीकृत भई साइट क्लियरेन्स र प्रिप्रेसन तथा क्याम्प स्थापना गरी अहिले सुरुङ मार्ग निर्माण सुरु भएको बताइएको छ। अबको तीन वर्षभित्र सुरुङ मार्गको निर्माण सम्पन्न हुने जनाइएको छ।
दुई चरणमा निर्माण गरिने सुरुङ तथा मोटरेबल पुल निर्माणका लागि गत वैशाख ३१ गते नेपाली सेनाले दुईवटा चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो। सुरुङको प्याकेज–१ का लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज–२ का लागि पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो।