काठमाडौं। कालीगण्डकी–रिडी डबल सर्किट प्रसारण लाइन निर्माण हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले १३२ केभी कालीगण्डकी–रिडी डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको हो।
प्राधिकरणले गण्डकी प्रदेशको स्याङ्जादेखि लुम्बिनी प्रदेशको पाल्पासम्म २२.४५ किलोमिटर लामो लाइन निर्माण गर्ने भएको हो। स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको स्विचयार्डदेखि सोही जिल्लाको गल्याङ नगरपालिका हुँदै पाल्पाको बगनासकाली गाउँपालिका, तानसेन नरपालिकास्थित प्रस्तावित १३२र३३ केभी रिडी सबस्टेसनसम्म लाइन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
विद्युत विकास विभागले प्रसारण लाइन निर्माण गर्न प्राधिकरणको नाममा अनुमति दिने प्रकृया अन्तिम चरणमा पुर्याएको छ । विभागले विद्युत ऐन २०४९ को दफा ४ को व्यवस्था अनुसार विद्युत नियमावली २०५० को नियम १५ बमोजिम प्राधिकरणलाई अनुमतिपत्र दिन लागेको हो । प्राधिकरणलाई अनुमति पत्र दिन विभागले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
विभागले अनुमतिपत्र दिनुअघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग रायरसुझाव मागेको छ । विभाग तथा प्राधिकरणको कार्यालयमा आइपुग्ने गरी सरोकारवालाबाट रायरसुझाव मागिएको हो ।