दाङ। दाङ जिल्लाको घोराही उपमहानगमा जैविक फोहोरबाट ग्यास उत्पादन गर्न शुरु गरिएको छ। दैनिक उत्पादन हुने जैविक फोहोरबाट यहाँ ग्यास उत्पादन गर्न थालिएको हो।
ग्यास उत्पादन भएसँगै पहिलो चरणमा साढे ४ सय घरमा पाइप लाइनमार्फत ग्यास पुर्याउन काम भइरहेको छ भने करिब साढे ७ सय स्थानीयका घरमा ग्यास पुर्याउने योजना अनुसार काम भइरहेको छ।
जैविक फोहोरबाट बायो ग्यास उत्पादन गर्न २०७५ मंसिर ५ मा घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनी प्रालिका बीचमा त्रिपक्षीय सम्झौता भएको थियो।
सम्झौताअनुसार नेपाल ऊर्जा विकास कम्पनीले प्लान्ट स्थापना गरी जैविक फोहोरबाट बायो ग्यास उत्पादन शुरू गरेको हो। प्लान्टका लागि घोराही नगरले वडा नंं १६ को करौती डाँडास्थिति ल्यान्डफिल साइट नजिकै तीन बिघा जग्गा उपलब्ध गराएको थियो। सोही ठाउँमा कम्पनीले बायो ग्यास उत्पादन शुरू गरेको हो।
ग्यास उत्पादनको सम्पूर्ण संरचनासहित २० वर्षपछि घोराही उपमहानगरलाई हक हस्तान्तरण हुने बताइएको छ।
आगामी नयाँ वर्षमा प्रत्येक घरमा पाइप लाइनमार्फत खाना पकाउने ग्यास पुर्याउने योजना छ। आवश्यक पाइप भारतबाट मगाइएको बताइएको छ।