काठमाडौं। दश मिटर चौडा भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङखण्ड कालोपत्र बजेट अभावमा रोकिएको छ। करिडोर सडक आयोजना कार्यालयका अनुसार काम सबै सकिए पनि योजना आयोग र अर्थमन्त्रालयले बजेटको व्यवस्था नगरेका कारण काम रोकिएको हो।
बागलुङको मालढुङ्गादेखि जैमिनी नगरपालिका–८ छिस्तीको पालुङ्खोलासम्म ४८ किमी खण्डको वातावरणीय परीक्षण र विस्तृत परियोजना प्रतिवेदनसमेत तयार भइसकेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बहुवर्षे आयोजनका रुपमा छिस्तीको अदुवाबारीदेखि बागलुङको बलेवा विमानस्थलसम्म २० किलोमिटर खण्ड कालोपत्रका लागि बजेटको व्यवस्था गरिदिन माग गर्दै अर्थ मन्त्रालय र योजना आयोगलाई पत्राचार गरेको थियो। सम्बद्ध मन्त्रालयले मागे बमोजिमको बजेट उपलब्ध नगराउँदा उक्त खण्डको काम अल्झिएको हो।
उक्त खण्डको काम समयमै सुरु नभएमा ठाउँ ठाउँमा पहिरो जाने समस्या आउदो वर्षायाममा समेत व्यहोर्नु पर्नेमा स्थानीयवासी चिन्तित छन्। डिपिआर अनुसारका संरचना निर्माण भए पहिरोको जोखिम कम हुने र सडक नै बन्द हुने अवस्था नआउनेमा स्थानीयवासी आशावादी थिए। उक्त खण्ड कालोपत्रका लागि मन्त्रालयले रु एक अर्ब, ६८ करोड ८८ लाख ३० लाख १३० बजेट माग गरेको थियो। बागलुङ कुश्मीशेरा सडकको बागलुङ नगरपालिका–१० गलुवामा गत असार १ गते खसेको पहिरो रोकथाम तथा सडक मर्मतको कामका लागि स्रोत सुनिश्चित नहुँदा यो वर्ष काम नहुने भएको हो।
उक्त पहिरो व्यवस्थापन गर्न मन्त्रालयले रु एक करोड १७ लाख थप बजेट माग गरेको थियो। यो पहिरो व्यवस्थापनका लागि स्थानीय स्रोत कम हुने भएकाले केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बागलुङ नगरपालिकाले जनाएको छ।