काठमाडौं। पुष्पलाल मध्यपहाडी लोकमार्गमा रुख काट्ने अनुमति नहुँदा निर्माणको काम प्रभावित भएको छ। रुख काट्ने अनुमति नमिल्दा पालुङटार नगरपालिका १ अन्नपूर्ण जंगलमा ४ किलोमिटर सडक विस्तार हुन नसकेको हो।
उक्त लोकमार्ग निर्माण सुरु भएको सात वर्ष बितिसक्दा ९ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ। रुख काट्ने अनुमति नपाउँदा सम्म त्यहाँ काम अघि नबढ्ने बताइएको छ। गत वर्ष नै क्षति हुने रुखविरुवाको विवरण संकलन गरेर वन विभाग र मन्त्रालयमा पठाएको थियो। तर, अहिलेसम्म रुख काट्ने अनुमतिको प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको नभएको जनाइएको छ।
संघीय मन्त्रालयमा ४ महिना अघि पुगेको प्रस्ताव अझै मन्त्रिपरिषद् पेश हुन नसकेको हो। मध्यपहाडी लोकमार्ग बनाउँदा जिल्लाका झण्डै ६ हजार रुख विरुवा काट्नु पर्ने देखिएको छ। डिभिजन वन कार्यालय गोरखाका अनुसार पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकामा पर्ने ९ वटा सामुदायिक वनका कुल ५ हजार ९ सय वटा सालका रुख विरुवा कटान गर्नुपर्ने देखिएको हो।