काठमाडौं। लमजुङस्थित ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको विद्युत खेर गएको छ। चिनियाँ पक्षले आयोजनाको विद्युत प्रवाहका लागि असहयोग गरेका कारण उपकरण तथा संरचनाको परीक्षणपछि पनि विद्युत उत्पादन सुरु हुन नसकेको हो।
प्रणालीमा जोड्न समस्या भएपछि बिगत १ महिनादेखि आयोजनाको विद्युत खेर गइरहेको न्यादी हाइड्रो पावर कम्पनीले जनाएको छ। आयोजनाले सुख्खा याममा २० मेगावाट उत्पादन दिन सक्ने भए पनि सञ्चालन गर्न नपाउँदा भारतको विद्युत माथिको निर्भरता घटाउने योगदान गर्न नसकेको बताइएको छ। नेपाल विद्युत प्राधिकरणले न्यादीको विद्युत जोड्ने अनुमति दिन पत्राचार गरे पनि माथिल्लो मर्स्याङ्दी ‘ए’ को प्रवद्र्धक सिनो हाइड्रो सगरमाथाले मानेको छैन।
अनुमति कुर्दा कुर्दै १ महिना त बितिसक्यो। अहिलेसम्म सकारात्मक संकेत देखिएको छैन। चिनियाँबाट अनुमति नमिलेमा अर्को सबस्टेसन बनाउनु पर्छ। त्यसका लागि ६ महिना लाग्ने कम्पनीले जनाएको छ।
यसअघि आयोजनाको विद्युत २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइनको खुदी सबस्टेसनमा जोड्ने तय भएको थियो। लामो समय कोरोना (कोभिड–१९) महामारीका कारण प्रभावित हुन पुगेको आयोजनाको उत्पादन तालिका अहिले प्रसारण लाइनमा जोडिन नपाउँदा पनि प्रभावित भएको छ।