काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेका थिएनन् ।
शुक्रबार पनि दुई घण्टा उक्त क्यालिब्रेशन फ्लाइट भएको थियो । उक्त उडानका कारण शुक्रबार पनि दुई घण्टा उडान र अवतरण हुन सकेको थिएन । अहिले भने आजका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन फ्लाइट सकिएको विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताए।
उनले भने, “क्यालिब्रेशन फ्लाइटका कारण केही समय जहाज अडान र अवतरणमा केही कठिनाइ भई आकासमै होल्ड गराएका थियौँ, केही जहाज अवतरण गराएका थियौँ, आजलाई सकिएको छ, अब सिमरामा हुन्छ ।” करिब दुई घण्टा भएको उक्त क्यालिब्रेशन फ्लाइटका कारण शुक्रबार बिहान ११ः३० देखि १ः३० बजेसम्म धेरै जहाज आकासमै होल्ड भएका थिए भने सो अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकासमै घुमिरहेका थिए ।
क्यालिब्रेशन फ्लाइट सकिएका कारण आकासमै होल्ड भएका जहाजहरु पछि मात्र अवतरण गरिए । उक्त क्यालिब्रेशन फ्लाइटका लागि आएको जहाज अझै केही दिन नेपालमै रहने र केही दिनपछि समय हेरेर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरिने निर्देशक ठाकुरले जानकारी दिए ।