दोलखा। दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र कालिञ्चोकमा निर्मित कालिञ्चोक केवलकारको पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
शुक्रवार शैलुङ गाउँपालिकाको शैलुङ डाँडामा आयोजित साहित्यिक महोत्सवको उद्घाटन गर्न आउने क्रममा उनले कालिञ्चोक केवलकारको उद्घाटन गरेका हुन् ।
२०७५ सालबाट नैं सञ्चालनमा आएको सो केबलकारको औपचारिक रुपमा उद्घाटन भने नगरिएको कारण शुक्रवार उद्घाटन गरिएको कालिञ्चोक केवलकारका अध्यक्ष बालकृष्ण शिवाकोटीले जानकारी दिए ।
४५ करोड रुपैयाँको लागतमा केवलकारको निर्माण भएको हो । कालिञ्चोकको कुरी बजारबाट कालिञ्चोक भगवती मन्दिरसम्म पुग्नको लागि केबलकार सञ्चालन गरिएको हो ।
कालिञ्चोकबाट रोलवालिङ तथा जुगल हिमश्रृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिने तथा सूर्यास्तको मनोरम दृष्य देखिने भएकोले आन्तरिक पर्यटकको रोजाइमा कालिञ्चोक पर्ने गरेको छ । साथै हिउँपर्ने सिजनमा हिउँ खेल्न आउनेहरुका लागि कालिञ्चोक आकर्षक पर्यटकिय गन्तव्य हो ।