काठमाडाैं। गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले पोखरामा पर्खाल शिलान्यास गरेका छन्।
मन्त्री थापाले पोखरा महानगरपालिका–१८, जामुनबोटमा बन्न लागेको पोखरा सूचना, प्रविधि (आईटी) पार्कको पर्खालको शिलान्यास गरेका हुन् ।
जेठ १५ गतेसम्म सक्ने गरी शेपा÷आशिष एन्ड अनिष जेभीले बनाउन लागेको पर्खाल निर्माणको लागत ९४ लाख रहेको छ।
मन्त्रालयका सूचना अधिकारी खुबीराम पौडेलले पार्कको बाउन्ड्री पर्खालको मात्रै शिलान्यास भएको जानकारी दिए।
पर्खालको शिलान्यास भए पनि ९६ रोपनी क्षेत्रफलमा बन्ने आईटी पार्कको भने अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार भएको छैन । पार्कको पर्खाल बनाउन प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
पर्खाल शिलान्यास गरेपछि मन्त्री थापाले आईटी पार्क गण्डकी प्रदेशको गौरवको आयोजना भन्दै त्यसलाई सफल बनाउन पहिलो चरणको काम अघि बढेको दाबी गरे ।