स्याङ्जा। विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको स्याङ्जाको सेतीदोभानमा निर्माणाधीन पक्कीपुल तीन महिनाभित्र बनाउने सहमति भएको छ। सरोकारवाला पक्षबीच भएको द्विपक्षीय सहमतिअनुसार निर्माण व्यवसायीले तीन महिनामा सक्ने गरी पुल निर्माणको कार्य सुरु गरेको हो।
आँधीखोला गाउँपालिकाको सेतीदोभान र फापरथुम जोड्ने गरी निर्माणाधीन मोटरेबल पुल बन्न नसकी स्थानीयको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारीले पुल निर्माणमा चासो बढाएका थिए। अलपत्र अवस्थामा रहेको पुल निर्माण कार्यका लागि ठेकेदार कम्पनी र सडक डिभिजनले स्याङ्जा प्रशासनमा सरोकारवालाबीच तीन महिनाभित्रमा पुल निर्माण कार्य सम्पन्न गर्ने लिखित सहमति भएको छ।
चालू आर्थिक वर्षमै सम्पन्न गर्ने गरी सरोकारवाला सबैलाई काम अगाडि बढाउन भनिएको छचालू वर्षमा पुल निर्माण सम्पन्न हुने विश्वास गरिएको छ। निर्माण व्यवसायी र सडक डिभिजनको लापरबाहीका कारण पुल निर्माण हुन नसकेको स्थानीयको भनाइ रहेको छ। अलपत्र परेको पुलका कारण स्थानीयले धेरै दुःख भोग्दै आएका छन्। पटकपटक गरी सम्झौता र सहमति बने पनि पुल बन्न नसक्दा स्थानीय नागरिक हैरानी भोग्न बाध्य छन्।
आँधीखोलामा निर्माणाधीन पुलले सडकमार्फत सेतीदोभान बजारसँग जोडेको छ। पुलअलपत्र अवस्थामा हुँदा आवतजावतमा मात्रै समस्या नभएर खाद्यान्नलगायत अत्यावश्यक वस्तुको ढुवानीमा समेत कठिनाइ भएको स्थानीयले बताए।