काठमाडौं। तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएपछि पुल भत्काएर अर्को पुल बनाउन निर्देशन दिइएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबेँशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो।
विसं २०७३ असार १ गते सम्झौता भएअनुसार निर्माण व्यवसायी नागार्जुन। जयबाबा। काष्ठमण्डप जेभीले निर्माण गरेको पक्की पुलको दुई स्पानमध्ये नुवाकोटतर्फको स्पान भत्काएर अर्को बनाउन निर्देशन दिएको बताइएको छ। पुलको स्पान ढलान गरेपछि यसलाई तन्काउने क्रममा चर्किएसँगै भत्काएर नयाँ स्पान राख्न निर्माण व्यवसायीलाई पत्र पठाइएको हो।
गत आइतबार निर्माण व्यवसायी पक्षलाई जारी गरिएको पत्रमा ‘सडक विभाग, पुल महाशाखाबाट स्वीकृत गरिएको डिजाइन अनुसार नभएकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्न’ उल्लेख गरिएको छ। उक्त भत्काउनुपर्ने पुलको स्पान दूरी ३० मिटर रहेको बताइएको छ।
गतवर्ष फागुनमा स्पान निर्माणको क्रममा गुणस्तरहीन बालुवाको प्रयोग र तोकिएको परिमाण भन्दा कम सिमेन्टको प्रयोग गरेर ढलान गरिएको पाइएको प्राविधिक अध्ययनमा देखिएको छ। उढलान गरिएको स्पानको डोरी तन्काउदा पड्किएसँगै पुल जोखिम बनेकाले त्यसलाई सुधार गर्न भने पनि अटेर गरेर थप निर्माण गरेसँगै भत्काएर अर्को बनाउन अहिले निर्देशन दिइएको हो।
अहिलेको संरचना जतिसक्दो चाँडो भत्काएर अर्को स्पान राख्न निर्माण व्यवसायीलाई भनिएको छ। दिइएको निर्देशनको पालना नगरे निर्माण व्यवसायीलाई कारबाही र ठेक्कासमेत रद्द हुने कानुनी व्यवस्था भएकाले त्यसतर्फ जान बाध्य हुने सडक डिभिजन कार्यालयले जनाएको छ। उक्त पुल निर्माणका लागि छ वर्ष अघि रु आठ करोड १४ लाखको ठेक्का लगाइएकामा निर्माण व्यवसायीले रु छ करोड २३ लाखमा बनाउने जिम्मेवारी पाएको थियो।