काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा आएको छ। डढेलो चार दिन पछि नियन्त्रणमा आएको हो।
हेलिकप्टर, स्थानीयवासी, नेपाल प्रहरी र नेपाली सेनाको सक्रियतामा ४ दिनपछि उक्त डढेलो नियन्त्रणमा लिन सफल भएको गाउँपालिकाले जनाएको छ। स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि सोमबारदेखि सिम्रिक एयरको अग्नि नियन्त्रक हेलिकप्टर प्रयोग गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको पहलमा ल्याइएको उक्त हेलिकोप्टरले आगो नियन्त्रणका लागि ९५ हजार लिटर पानी प्रयोग गरेको थियो। आगो तीव्र गतिमा फैलिँदा धुवाँका कारण सोमबार बिहान लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल करिब १ घण्टा बन्द गर्नु परेको थियो।