काठमाडौं। शुक्लाफाँटा नगरपालिका–७ स्थित टोटी नालामा ट्रस्ट पुल निर्माण हुने भएको छ। सो पुल रु ७१ लाख लागतमा निर्माण हुन लागेको हो।
उक्त पुल उपभोक्ता समितिमार्फत निर्माण गरिनेछ। त्यसमा सामाजिक तथा प्राविधिक सहयोग नेपाल राष्ट्रिय विकास समाज कञ्चनपुरको रहेको बताइएको छ।
पुल निर्माणका लागि नगरपालिकाको रु नौ लाख २४ हजार १२ (१३ प्रतिशत), समुदायको श्रमदान रु एक लाख ४२ हजार १५५ (२ प्रतिशत), दातृ संस्था स्वावको अनुदान रु ६० लाख ४१ हजार ६२३ (८५ प्रतिशत) रहेको छ।
पुल निर्माणको कार्य असार मसान्तसम्म सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाइएको बताइएको छ। पुल निर्माण भएपछि ४०० घरघुरीका पाँच हजार ५०० लाभान्वीत हुने छन। पुलको लम्बाइ ६४ मिटर रहेको छ।