काठमाडौं। लमजुङको मध्यनेपाल नगरपालिकाअन्तर्गत चारवटा सडक कालोपत्रे सुरु भएको छ। नगरपालिकाले चालू आर्थिक वर्षमै विभिन्न भागमा रहेका चारवटा कच्ची सडकलाई कालोपत्रे गर्न सुरु गरेको हो।
चालू आर्थिक वर्षमा विनियोजित कुल तीन करोड २० लाख रुपैयाँ लागतमा चार किलोमिटर सडक कालोपत्रे हुन लागेको हो। भोर्लेटार र रिस्ती करिडोरअन्तर्गतका छुट्टाछुट्टै सडक कालोपत्रे गर्न थालिएको मध्यनेपाल नगरपालिकाले जनाएको छ। नगरपालिका मुकामसमेत रहेको भोर्लेटार बजारबाट पाखुरीथोकदेखि रामबजारसम्म पुग्ने एक किलोमिटर सडक कालोपत्रे सुरु भइसकेको छ।
यस्तै भोर्लेटारबाट हाँडीखोला हुँदै बाँग्रेबेसीसम्म पुग्ने एक किलोमिटर सडक पनि कालोपत्रे सुरु भएको छ। रिस्ती करिडोरअन्तर्गत सोतिपसलबाट पाँडेगाउँ हुँदै जिताकोट पुग्ने सडकको एक किलोमिटर खण्ड पनि कालोपत्रे सुरु भइसकेको बताइएको छ। यसैगरी मध्यनेपालको रम्घाबाट समिभन्ज्याङतर्फको एक किलोमिटर सडकखण्डमा पनि कालोपत्रे सुरु भइसकेको बताइएको छ।
नगरपालिकाले पछिल्लो नगरपरिषदबाट नगर गौरवको रूपमा चारवटा नमुना सडक छनोट गरी कालोपत्रे सुरु गरेको जनाएको छ। पूर्वाधार विकासतर्फ कालोपत्रेका लागि चारवटा सडकमात्रै छनोट गरेको थियो।