काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत् दिने भएको छ। उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको हो।
प्राधिकरणले हाल उक्त उद्योगलाई करिब आठ मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ। प्राधिकरणले उद्योगसम्म विद्युत् पुर्याउन आवश्यक संरचनाको निर्माण गरी एक महिनाभित्रमा मागअनुसार नै विद्युत् दिन लागेको हो।
उद्योगसम्म विद्युत् पुर्याउन कोहलपुर सबस्टेसनबाट ३३ केभी डबल सर्किट प्रशारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ। उद्योगले पनि थप विद्युत् आपूर्ति लिन आफ्नो परिसरमा सबस्टेसन निर्माण र कारखानाको क्षमता विस्तारलाई काम अन्तिम चरणमा पुर्याएको बताएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिवार स्थलगत अवलोकन गरी नेपालगञ्ज तथा कोललपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगहरूलाई विद्युत् आपूर्ति गर्न निर्माण गर्नु पर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफल गरेको छ।