काठमाडौं। पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीदेखि बन्दिपुर–१को स्याउलीसम्म ३८४ रुख कटान गरिएको छ। करिब दश किलोमिटर सडक दूरीअन्तर्गत एक हजार पाँच सय रुख कटान गर्नुपर्नेमा पहिलो चरणमा उक्त सङ्ख्याका रुख कटान गरिएको हो।
छिमेकी जिल्ला पोखराको चाइना पुलदेखि तनहुँको पूर्वी नाका मुग्लिनपुलसम्म करिब ९० किलोमिटर दूरीमा सडक विस्तार गरिने भएको छ। उक्त मार्गअन्तर्गत तीन वटा निर्माण कम्पनीले तीन प्याकेजमा सडक विस्तारका कार्य गर्नुपर्ने भए पनि हाल दुई प्याकेजमा मात्रै काम भइरहेको बताइएको छ।
जिल्लाको आँबुखैरेनीदेखि म्याग्दे गाउँपालिकाको जामुनेसम्म ४१ किलोमिटर र जामुनेदेखि पोखराको चाइनापुलसम्म ४९ किलोमीटर दूरीमा तीन निर्माण कम्पनीले सडक विस्तारका काम गर्नेछन्। हाल ४१ किलोमिटर दूरीभित्र सडक विस्तारका कार्य भइरहेपनि ४९ किमी क्षेत्रमा काम सुरु भएको छैन।
दश किमीमध्ये हालसम्म दुई किमी सडकको रुख काटिएको बताइएको छ। सडक कालोपत्र बाहेक अन्य कार्य चौध महिनाभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ। कूल रु ६५ करोडमा ठेक्का सम्झौता गरी पाँच वर्ष योजना सम्पन्न गर्नुपर्ने समयसिमा छ।