काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडकखण्ड विस्तारको कामले अझै गति लिन सकेको छैन। सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नुपर्ने भएपनी कामले गति लिन सकेको छैन।
आयोजनाको लक्ष्यअनुसार सडक विस्तारको काम ९० प्रतिशत सम्पन्न गर्नुपर्दथ्यो। तर, सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जम्मा १२.४४ प्रतिशत मात्र काम सकेको बताइएको छ। ठेकेदार कम्पनीले निर्माण आरम्भमा ढिलाइ, रुख कटान गर्नुपर्ने सङ्ख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनुलगायतका समस्याले विस्तारमा ढिलाइ भएको जनाइएको छ।
पछिल्लो समय सडक विस्तारको कामले केही गति लिएको बताइएको छ। मध्यबिन्दुको चोरमारा र अरुणखोला जङ्गल क्षेत्रमा सडक विस्तार हुने क्षेत्रमा माटो भर्ने र पुल निर्माणको काम सुरु भएको छ। दाउन्ने पहाडको माटो कटान गर्ने काम पनि सञ्चालन भइरहको छ। सडक विस्तारका लागि मजदुरसँगै २१३ औजार उपकरण प्रयोग गरेर काम भइरहेको आयोजनाले जनाएको छ।
करिब एक घण्टामा पार गरिने नारायणगढ बुटवल सडकको पूर्वी खण्ड विस्तारको काम ढिला हुँदा पार गर्न तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ। निर्माणाधीन सडकमा उड्ने धुलोका कारण स्थानीय तथा यात्रुले निकै सास्ती खेप्नुपरेको छ।