काठमाडौं। भद्रकाली मन्दिर पुनःनिर्माण भएको छ। २०७२ सालमा भूकम्पले जिर्ण भएको मन्दिर पुनःनिर्माण भएको हो।
उक्त मन्दिरको शनिवार महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन्। मन्दिर उद्घाटनपछि बोल्दै मेयर शाक्यले भने, ‘निर्वाचित भएर आफू महानगरमा आएदेखि सम्पदा संरक्षणमा लिएको नीति त्यसैबेलादेखि कार्यान्वयन गर्न पाएको भए अहिलेको भन्दा धेरै परिणाम आउने थियो। त्यसबेला हामीले भनेका कुरालाई गलत अर्थ लाग्ने गरी प्रचार गरियो। यसबाट गुठीयार र सांस्कृतिक गतिविधिसँग सम्बन्धित समुदायमा गलत सन्देश प्रवाह भयो अहिले धेरैले कुरा बुझ्नुभयो तर हामीसँग काम गर्ने समय थोरै छ।’
सम्पदा संरक्षणमा महानगरले सामना गरेको चुनौतीका विषयमा कुरा गर्दै उनले भने, ‘पैसाको कमी थिएन। बुझाइमा एकरुपता आएको भए अहिलेभन्दा धेरै परिणाम आउने थियो। भ्रम फैलाउनेका कारण आखिरमा समुदायलाई घाटा भयो।’
मन्दिर करिब १ करोड ६० लाख रुपैयाँमा पुननिर्माण भएको हो। यसमध्ये महानगरले करिब १ करोड रुपैयाँ उपलब्ध गराएको थियो भने जनसहभागिताबाट ६६ लाख रुपैयाँ संकलन भएको थियो।