रौतहट। जिल्लाको बकैया नदीमा निर्माण कार्य शुरु भएको सात वर्षसम्म पनि पुल बन्न सकेको छैन। गौरलाई पश्चिमी रौतहटसँग सडक सञ्जालले जोड्न नदीको टिकुलिया घाटमा सात वर्ष पहिले शिलन्यास गरिएको पुल अलपत्र परेको हो।
सात वर्षअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुल शिलान्यास गरेका थिए। शिलन्यास भएको केही समयसम्म पुल निर्माण द्रुत गतिमा भएपनि ठेकेदारले काम अचानक रोक्दा पुल अलपत्र अवस्थामा छ।
समयमा पुल नबन्दा यहाँका स्थानीयबासी वर्षौँदेखि डुंगा र बाँसको पुलको भरमा वारीपारी गर्नेछन्। वर्षायाममा नदीमा बाढी आउँदा वारीपारी गर्न समस्या हुने गरेको स्थानीयको गुनासो छ। पुल नभएकै कारण नदीले कतिलाई बगाउने गरेको र ज्यान समेत जाने गरेको अवस्था छ । तर २०७१ असार २९ मा १४ करोड ९३ लाखमा पप्पु कन्सट्रक्सनले तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको पुल सात वर्ष बितिसक्दा पनि बनिसकेको छैन ।
ठेक्का सम्झौता अनुसार २०७४ असार २५ गतेभित्र निर्माण कार्य पूरा गरिसक्नुपर्ने पुलको अहिलेसम्म ४० प्रतिशत मात्र बनेको छ। ४० प्रतिशत काम भएर रोकिएको पुलको ढलान अहिले आफैं उप्किन थालेको छ।