काठमाडौं। मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्दे , वडानम्बर ३ ङावल जोड्ने मस्र्याङ्दी नदीको मोटरेबल पुल र वडानम्बर ५ जोड्ने मुङ्जे खोलाको पुल वर्षौंदेखि निर्माण अलपत्र अवस्थामा छ। पुल वर्षौंदेखि अलपत्र रहे पछि मोटरेबल पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई मनाङ प्रशासनले निर्देशन दिएको हो।
निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायको ध्यानाकर्षण गराएको हो। करिब पाँच वर्षअघिबाट निर्माण सुरु भएको हुम्डे ङावल पुलको करिब ७० प्रतिशत काम सकिएपछि दुई वर्षअघि भत्किएको थियो।
काठमाडौंस्थित निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले चार करोड ५१ हजार लागतमा निर्माण सुरु गरेको पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरे पनि हालसम्म सम्पन्न नभएको स्थानियले बताए।
पुल निर्माणका लागि निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले ०७३ सालमा तत्कालीन जिल्ला विकास समिति मनाङसँग सम्झौता गरेको थियो।