रौतहट । गत शनिबार चन्द्रपुर नगरपालिका–३ गैंडाटारस्थित चाँदी खोलाले बगाएर एक बालकको मृत्यु भयो । राति ९ बजे चाँदी खोला तर्ने क्रममा स्थानीय हरिबहादुर ठोकरका १४ बर्षीय छोरा सुकराज ठोकरलाई खोलाले बगाएर मृत्यु भएको हो ।
उनको शव आइतबार बिहान ७ बजे बगाएको स्थानबाट ३ किलोमिटर पर फेला पर्यो ।
यो यस वर्षको एउटा उदाहरण मात्र हो । खोलामा पुल नहुँदा वर्षेनी यहाँका कयौँ स्थानीयलाई खोलाले बगाउने गरेको छ । खोलाले बगाएरै बेपत्ता भएका र ज्यान समेत गुमाएका धेरै उदाहरण यहाँ छन् ।
ठेकदार कम्पनीको लापरवाहीका कारण समयमै बन्नुपर्ने पुल हालसम्म पनि निर्माण हुन नसक्दा स्थानीयहरु खोला तरेर हिन्न बाध्य छन् जसको कारण यो खोलाले बर्सेनि मान्छे बगाउने गरेको छ ।२०७४ असार ३१ गते ठेक्का सम्झौता भएको पुल २०७६ असार ३१ गते सक्नुपर्ने थियो । तर हालसम्म पुलको काम अघि नबढ्दा स्थानीय मारमा परेका छन् ।
अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको छ । वर्षाका बेला वारपार गर्न कठिन हुँदै आएका स्थानीयले हालसम्म पुलको पिलरबाहेकको काम देख्नै पाएका छैनन् ।
सम्झौता अनुसार निर्माण कार्य नसकिएपछि पहिलो पटक साधारण खरिद नियमावली अनुसार डेढ वर्षका लागि म्याद थपिएको थियो । थपिएको म्यादअनुसार गत पुस १४ मा निर्माण कार्य सक्नुपर्नेमा ठेकेदारले कोरोना, लकडाउनलगायत विभिन्न बहाना गर्दै काम सकेन ।
दोस्रो पटक सरकारको गत माघ ११ को निर्णयअनुसार कोभिड–१९ को कारण देखाई ६ महिना म्याद थप थियो । यस अनुसार ठेकेदारले आगामी असार १३ गतेसम्म निर्माण सक्नुपर्ने थियो । तर पुल निर्माणको काम हालसम्म पनि पूरा नहुँदा स्थानीयको समस्या जस्ताको त्यस्तै छ ।