तनहुँ। बन्दिपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकार निर्माणको काम अन्तिम चरणमा पुगेको छ। केबलकारको संरचनाको ९५ प्रतिशत काम सम्पन्न भएको हो।
होटल निर्माणको काम पनि तीव्रतापूर्वक भइरहेको बन्दीपुर केबलकारका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । पहिलो चरणमा बटन स्टेसन, केबलकार, होटल भवन, रेस्टुरेन्ट र पार्किङ संरचनाको काम सकिने छ । दोस्रो चरणमा हिलटपमा पाँचतारे होटल सञ्चालनमा आउने भएको छ ।
होटलसहितको केबलकार संरचना बनाउन २ अर्ब ६० करोड रुपैयाँको लागत अनुमान गरिएको छ ।होटल बेसमेन्टसहित १७ तलाको हुनेछ । केबुलकार सीधै होटेलमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
अहिले होटलको कोठा संख्या ६६ बाट बढाएर ८७ पुर्याइएको छ । बन्दीपुर गाउँपालिका–४ ठूलढुंगामा तल्लो स्टेसन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेसन रहनेछ । ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने छ । केबुलकार १.६ किलोमिटरको हुनेछ ।