इलाम । पहिरो खसेर तीन दिनदेखि अवरुद्ध भएको मेची राजमार्गमा बाइपास बनाउन समस्या भएको छ । सदरमुकामस्थित धोबिधारा–कुलधाराबीचको साँघुरो खोल्सीभिरमा पहिरो झरेर अवरुद्ध राजमार्गको बाइपास सडक बनाउन समस्या भएको हो।
यस राजमार्गमा करिब २० मिटर सडक नै पहिरोले झरेको छ । पहिरो झरेपछि यहाँ तीन दिनदेखि सवारी साधन आउ–जाउ ठप्प छ।
भिरको खोल्सीमा तलबाट अग्लो पर्खाल र ह्युमपाइप लगाएर निर्माण गरिएको राजमार्ग गत १६ गते बिहान झरेको थियो। पहिरो झरेर राजमार्गको चौडाइको करिब ८० प्रतिशत भाग झरेको छ। बाँकी भाग पनि चिरा परेपछि सवारी साधन ठप्प भएको हो ।
इलाम नगरपालिकाले राजमार्गभन्दा माथिपट्टिको भित्ताबाट बाइपास सडक बनाउने सुझाव दिएपनि अझ पहिरो झरेर बस्ती नै जोखिममा पर्ने सम्भावना देखिएको डिभिजन सडक कार्यालयले जनाएको छ।
पहिरो झरेको स्थानमा बाइपास सडक बनाउनु निकै जोखिमपूर्ण देखिएपछि बाइपास बनाउन समस्या भएको हो । बाइपास सडकका लागि समस्या देखिएपछि मंगलबार जिल्लाका सरोकारवालासँग बसेर वैकल्पिक सडकबारे निष्कर्षमा पुग्ने कार्यालयले जनाएको छ।