काठमाडौं। गुल्मीमा कुल पाँच करोड १७ लाखको लागतमा बन्न सुरु भएको मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ। जिल्लाको मुसिकोट नगरपालिका–३ र वडा नम्बर ७ जोड्ने मोटरेबल पुल निर्माणाधीन अवस्थामा दुईपटक नदीको बहाब बढेको कारणले भत्किएपछि पुल निर्माणमा ढिलासुस्ती भएको हो।
स्वीस सरकारको आर्थिक सहयोगमा बन्न लागेको झेंदी पुलको निर्माणका लागि २०७३ सालमा सम्झौता भएको थियो। २०७५ साल असार मसान्तसम्म सक्ने गरेर सम्झौता भएको झेंदी पुल तोकिएको समयमा निर्माण नभएको स्थानीयले बताए। निर्माणाधीन अवस्थामा रहेको उक्त पुल पहिलोपटक २०७६ वैशाख १ गते नदीको बहाब बढ्दा भत्किएको हो। त्यसपछि विज्ञहरूको सहयोगमा फेरि बन्न सुरु गरेको उक्त पुल २०७७ वैशाख ३ गते साँझ दोस्रो पटक नदीको बहाबले भत्किएपछि त्यसमा कसैको ध्यान नपुगेको स्थानीयको गुनासो रहेको छ।
पुलको जिम्मा लिएको बुद्ध कन्स्ट्रक्सन प्रालिले दोस्रोपटक नदीको बहाबले भत्किएपछि पुल निर्माणमा चासो देखाउन छाडेको उनिहरु बताउछन्। प्रालिले अहिलेसम्म दुई करोड ७३ लाख रुपैयाँ भुक्तानी लगिसकेको छ। दोस्रो पटक भत्किएको दुई वर्ष पुग्न थाले पनि पुल निर्माणमा अहिलेसम्म कसैको चासो नगएका कारण आफूहरू पुल बन्नेमा ढुक्क नभएको स्थानीयले बताए। बन्न थालेको मोटरेबल पुलको नजिकै रहेको जीर्ण झोलुंगे पुलबाट स्थानीय आवतजावत गर्दै आएका छन्।
पटकपटक नदीको बहाबले भत्किएका कारण झेंदी पुल अब ढलान नगरिकन फलामको बिम राखेर बनाइने बताइएको छ।