मनाङ। हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ। सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो।
हुम्डे विमानस्थल नजिकैबाट ङावल जान मस्र्याङ्दी नदीमाथि ‘स्टिल गर्डर ब्रिज’ निर्माणका लागि ग्वाला–क्याराभान जेभी काठमाडौँले २०७५ मङ्सिर १५ मा सक्ने गरी पुल निर्माण सम्झौता गरेको थियो। म्याद सकिएको तीन वर्ष बितिसक्दा पनि पुलको निर्माण भने अझै सम्पन्न भएको छैन।
डेढ वर्षमा सक्नुपर्ने पुलको काम अहिलेसम्म पनि सम्पन्न नभएको बताइएको छ। गत असार पहिलो साता मस्र्याङ्दीमा आएको बाढीले छेउको जग बगाउँदा पुल कोल्टिँदा जोखिमपूर्ण रुपबाट स्थानीयले हिँड्नुपर्ने बाध्यता रहेको छ। उक्त पुल बन्ने हो भने १० मिनेटमै गाउँ पुग्न सकिन्छ तर पुल बनाउने भनी निर्माण थालेर अलपत्र अवस्थामा छाड्दा सो ठाउँका बासिन्दा निराश बनेका छन्।
भाँचिएर खसेको पुल सोझो बनाइनुका साथै स्टिल जडान गरिएका छन् तर, डेढ वर्षअघिदेखि उक्त पुलको निर्माण सम्पन्नतर्फ अघि नबढेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। उक्त पुल सम्पन्न गर्न यही चैत ३० गते सम्म म्याद थपिएको छ।
ठेकेदार कम्पनीले भ्याटबाहेक रु चार करोड ५१ हजारमा पुल बनाउने जिम्मा लिएको हो। पैतीस मिटर लम्बाइ र साढे चार मिटर चौडाइको पुल खस्दा कम्तीमा रु ६० लाख क्षति पुगेको अनुमान गरिएको थियो।