काठमाण्डौं। सदरमुकाम बागलुङ बजारदेखि प्रसिद्ध कालभैरव मन्दिर बलेवा जाने सडक कालोपत्रे गर्न सुरु गरेको छ। बागलुङ नगरपालिका वडा नम्बर १३ को काभ्रबोटदेखि जलुकेनीसम्म साढे तीन किलोमिटर सडक कालोपत्रेको शुभारम्भ सोमबार प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठक र बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले संयुक्तरुपमा गरेका हुन।
नेपाल सरकारको समपुरक अनुदान र उक्त नगपालिकाको साझेदारीमा तीन वर्षअघिदेखि उक्त सडक स्तरोन्नति गरिएको थियो। साढे पाँच मिटर फराकिलो उक्त सडक कालोपत्रे गर्न जिम्मेवारी पाएको रौताहा कन्ट्रक्सन प्रालिले चैतको अन्तिम सातासम्म सबै काम सकेर सडक हस्तान्तरण गर्ने जनाएको छ।
अघिल्लो वर्ष नै हामीले यो सडक कालोपत्रेका लागि आवश्यक पूर्वाधार तयार गरेको भएतापनि पहिले कोरोना र बाढीका कारण काममा ढिला भएको कम्पनीले जनाएको छ। अब चैत मसान्त सम्मको समय छ उक्त समयअवधिमा काम सकेर हस्तान्तरण गर्ने कम्पनीले जनाएको छ।
गत वर्ष तयार भएको ग्राभेल सडक र आसपासमा लगाइएको पर्खाल असार १ गतेको बाढीले कालीगण्डकीमा पुर्याएको साथै उक्त खण्डमा झरेको पहिरोका कारण सडक लामोसमयसम्म अबरुद्ध भएको थियो।
सडक मर्मत गरेर कालोपत्रे गर्न सुरु गरिएको कम्पनीले जनाएको छ। उक्त सडक कालोपत्रे भएसँगै भैरवस्थान, मुलाबारी, भकुण्डे भ्यूटावर लगायत पर्यटकिय क्षेत्रमा पुग्न सहज हुने बताइएको छ। पाग्जादेखि भैरवस्थानसम्म विभिन्न खण्डमा स्तरोन्नतिको काम भैरहेकाले बाँकी सडक क्रमशः कालोपत्रे गरिने बताइएको छ।