काठमाण्डौं। गुल्मीको मालिका गाउँपालिकाले सबै वडालाई सडक सञ्जालसँग जोड्न चक्रपथ निर्माण गरेको छ। प्रत्येक वडालाई गाउँपालिकाको केन्द्रसँग जोड्ने योजना अनुरुप ७७.२ किलोमिटर चक्रपथ निर्माण गरिएको हो।
पालिकाको गौरवको योजनाका रुपमा यसलाई लिएको गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले जानकारी दिए। “आफूहरु निर्वाचित भएको पाँच वर्षभित्र गुल्मीको विकट भनेर चिनिने मालिकाका सबै वडामा सडकको पहुँच पुर्याएको छु”, उनले भने , “पालिकामा पूँजीगत बजेट निकै कम हुँदा पनि क्रमागतरुपमा प्रत्येक वर्ष बजेट विनियोजना गरेर मालिकामा चक्रपथ निर्माण गरेको छु।”
कूल चार करोडको लागतमा सो चक्रपथ निर्माण भएको गाउँपालिकाले जनाएको छ। मालिका गाउँपालिकाको वडा नं ४ को अर्खबाङ हुँदै तिरतिरे, सिमलटारी, अर्जै बोम, नेटा, लिलिङ, भीमगिठे, पाटाखर्क, दर्लिङ, गङगरेदेखि पुनः अर्खाबाङसम्म चक्रपथले जोडेको छ। चक्रपथ बाहेक मदनभण्डारी सडक, सालझण्डी–ढोरपाटन सडक र मध्यपहाडी सडकसँग जोडिएका सडकको स्तरवृद्धि र ग्राभेलको काम भइरहेकाले यहाँ बाह्रै महिना सहजरुपमा यातायात सञ्चालन हुने बताइएको छ।