काठमाण्डौं। मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकहरुको विद्युत लाइन काटिएको छ। विद्युत उपभोग गरेर पनि लामो समयसम्म विद्युत महसुल नबुजाएपछि १२ हजार ८३३ ग्राहकको विद्युत लाइन काटिएको हो।
मधेस प्रदेशका आठवटै जिल्लास्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन कट्टा गरी ६४ करोड ३५ लाख महसुल सङ्कलन गरिएको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयले जनाएको छ।
लाइन कट्टा गरिएकामध्ये नौ हजार ७१४ जनाले पुनः लाइन जडान गरेको र त्यसबाट ४२ करोड ९२ लाख ३९ हजार १९० राजस्व सङ्कलन भएको बताइएको छ।
यस्तै विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि मधेस प्रदेशमा चालु आर्थिक वर्षको सात महिनामा लगभग चार प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ। विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय मातहतका वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान चलाएपछि चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा विद्युत् चुहावट तीन दशमलव ८२ प्रतिशतले घटेको छ।
गत आर्थिक वर्षमा १६ दशमलव १२ प्रतिशत विद्युत् चुहावट भएकामा चालु आर्थिकको सात महिनाको अवधिमा विद्युत् चुहावटलाई १२ दशमलव तीन प्रतिशतमा झारिएको विद्युत् प्राधिकरणले जनाएको छ।