काठमाडौं। जोरपाटी–साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीबासीले आज बिहानैदेखि सडक बन्द गरेका छन्। सडकमा बाँस तेर्साएर उनीहरूले प्रदर्शनसमेत गरेका हुन्।
थली–साँखु सडक संघर्ष सरोकार समितिले सडक कालोपत्र गर्न दबाब दिइएको जनाएको छ। उक्त सडक हिउँदमा धुलो र बर्खामा हिलो भएर हैरान भएको छ। ०७६ मै सडक कालोपत्र गर्ने भने पनि अहिलेसम्म कालोपत्र गर्ने सुरसार छैन।
०७६ जेठ मा छ महिनाभित्र कालोपत्र गर्ने सहमति भएको थियो। तर दुई वर्ष भइसक्दा पनि सडक जस्ताको त्यस्तै भएपछि विरोध गरेको स्थानीयको भनाइ छ। थलीचोक, मिलनचोक र थली उकालोमा बाँस तेर्साएर स्थानीयले सडक अवरोध गरेको बताइएको छ।
साथै उनीहरूले नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयाललाई घेरा हालेका थिए। सडक कालोपत्र गर्न सहयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो।प्रहरीले अवरूद्ध सडक खुलाउने तयारी गरिरहेको छ तर स्थानीयले मानेका छैनन्। हिउँदमा धुलाम्य हुने भएकाले रोग बाट आफ्नो ज्यान जोगाउँन मुस्किल भएको र वर्खामा हिलोले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनिहरुले गुनासो व्यक्त गरेका छन्।