सिन्धुली। निर्माण व्यवसायी संघ सिन्धुलीले सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनको अधिकांश बुँदा साना व्यवसायीको हितविपरीत भएको जनाएको छ। संघले नियमावलीको ११ औं संशोधनको एकाध बुँदा बाहेक साना व्यवसायीको हित विपरीत भएको जनाएको हो।
संघले जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सार्वजनिक खरिद ऐन ११ औं संशोधन २०७८ मा साना व्यवसायीको हित विपरीत संशोधन गरिएका बुँदा पुन संशोधन गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको छ। खरिद नियमावलीको ११ औं संशोधनका अधिकांश बुँदा ठूला व्यवसायीको हितमा रहेको निर्माण व्यवसायी संघ सिन्धुलीको ठहर छ।
निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिमा समायोजन र खरिद नियमावली पुन संशोधनको माग गर्दै अहिले देशभरका सबै प्रदेश महासंघहरूले प्रदेश प्रमुखको कार्यालय तथा जिल्ला निर्माण व्यवसायी संघहरूले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। महासंघले पनि चैत्र १० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव याम कुमारी खतिवडालाई ज्ञापन पत्र बुझाएको छ।
सार्वजनिक खरिद नियमावली, २०६४ को ११औं संशोधनका त्रुटिपूर्ण प्रावधानहरू संशोधन तथा खारेज नभएमा महासंघको चैत्र १४ को राष्ट्रिय भेलाबाट तय हुने गरी थप संघर्षका कार्यक्रम संचालन गर्ने महासंघले चेतावनी समेत दिएको छ।