कर्णाली। करिब १० किलोमिटरमा रहेको चार लेन सडकको ठाउँठाउँमा पिच उप्किएर बनेका खाल्डा र निर्माणाधीन पुलहरू समयमा सम्पन्न नहुँदा यात्रुहरूले सास्ती खेप्नु परेको छ। कहिले धुलाम्मे त कहिले हिलाम्मे हुने यस सडकमा खाल्डाखुल्डीले गर्दा दुर्घटनाको जोखिमलाई पनि बढाएको छ ।सडक बिग्रेको कारणले गर्दा सवारी साधनसमेत छिट्टै बिग्रिने र धेरै इन्धन खपत हुनेजस्ता समस्या आउने सवारी चालकहरुको गुनासो रहेको छ।
त्यस्तै चार लेन सडकको एयरपोर्ट चोक, दैलेख रोड चोक, बसपार्कचोक, मंगलगढी चोक, यरिचोकलगायत विभिन्न ठाउँमा बढी खाल्डाखुल्डी परेको छ। सवारी साधनको अत्यधिक चाप हुने तर सडक मर्मत संभार नहुँदा समस्या बढदै गएको छ। नगरपालिकाले हाइमास लाइट जडानका लागि पिपिरा, मंगलगढी चौक र एरिचोकमा सडक खनेर धुलाम्मे पारेको साथै इत्राम खोला र खोर्केखोलामा निर्माणाधीन सडक तोकिएको समयमा सम्पन्न नहुँदा नभएको कारण पानी पर्दा हिलाम्मे र घामलाग्दा धुलाम्मे हुने हुँदा यात्रुलाई सास्ती हुने गरेको छ। स्थानीय सरकार तथा प्रदेश सरकार यस विषयमा कुनै पनि चासो नराखेको स्थानीयले बताएका छन्।
धुलियाबिटबाट बाँङ्गेसिमलसम्म पर्ने पाँचवटा पुल निर्माणको जिम्मा २०७५ असारमा सपना आशिष श्याम एण्ड शंकर जेभीले कम्पनीले २०७७ माघ ११ गतेसम्म पाँचवटै पुलको निर्माणकार्य सक्ने सर्तका साथ ठेक्का सम्झौता गरेको भएता पनि इत्राम र खोर्के खोलको पुल निर्माण अझैसम्म सकिएको छैन। ५ महिना म्याद थप गर्दा पनि काम नसकिएको कारण फेरी पनि म्याद थपको लागि कम्पनीले माग गरेको छ। उक्त कम्पनीलाई बढीमा छ महिनासम्मका लागि म्याद थप गर्न सडक विभागले डिभिजन कार्यालय सुर्खेतलाई सहमति दिएको छ ।
सडक निर्माण नहुँदा यात्रुले सास्ती खेप्नुपरेको छुट्टै कुरा भयो तर राजधानीस्थित प्रदेशमै एकमात्र चार लेन सडकको हालतले कर्णालीको विकासको अवस्थासमेत झल्काउने हुँदा यसको समयमै मर्मत सम्भारका लागि सम्बन्धित निकायले ध्यान नदिएको कुरामा स्थानीयबासीले गुनासो गरेका छन्।