काठमाडौं। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका वासिन्दाले चन्दा सङ्कलन गरेर डोजर किनेका छन्। गाउँमा सडक पु¥याउन गुर्जा विकास मञ्चको पहलमा चन्दा सङ्कलन गरेर चुरेन कन्ट्रक्सन प्रालिको नाममा डोजर किनेका हुन्।
मञ्चले कम्पनीले खरिद गरेको डोजर परिचालन गरेर धवलागिरि गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर २ हुँदै गुर्जा जोड्ने सडक अन्तर्गत महतला भिरमा मार्ग खोलिएको बताएको छ। स्वदेश तथा विदेशमा रहेका गुर्जावासीले सडक निर्माणका लागि चन्दा सङ्कलन गरेर डोजर किनेका बताइएको छ।
अहिलेसम्म करिब रु ७०÷७५ लाख सङ्कलन जुटिसकेको छ। गुर्जा घर भई हाल पोखरामा बस्नुहुने भारतीय गोर्खा सैनिकका सेवा निवृत्त क्याप्टेन लालबहादुर छन्त्यालको अध्यक्षतामा रहेको मञ्चले सडक निर्माणका लागि आर्थिक स्रोत जुटाउन समन्वय गरिरहेको गाउँपालिकाले जनाएको छ।
म्याग्दीका छ वटा स्थानीय तहका ४५ मध्ये गुर्जा मात्रै सडक नपुगेको वडा हो। २६५ घरधुरी छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जाका बासिन्दा गम्भीर अवस्थाको बिरामी पर्दा बिरामीलाई हेलिकप्टर चार्टर गरेर, स्टे«चर र डोकामा बोकेर अस्पताल लैजानुपर्छ। पछिल्लो एक वर्षमा अस्पताल जान हेलिकप्टर चार्टर गर्न मात्र गुर्जावासीले करिब रु ४० लाख खर्चेको मञ्चले जनाएको छ।
गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासमा गत पुस महिनामा करिब एक सय मिटर सडकको मार्ग खुलेको थियो। पूर्वाधार विकास कार्यालय म्याग्दीले दरवाङ–बिम–भारवाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजना अन्तर्गत महतला भिरमा सडक निर्माणका लागि २०७६ पुसमा बिएन कन्ट्रक्सनले रु ७८ लाख ९९ हजार ३१० मा ठेक्का लिएको थियो।
विसं २०७७ चैतदेखि सहायक निर्माण व्यवसायीको रुपमा काम थालेको चुरेन कन्ट्रक्सनको डोजरले महतलाको भिरमा मार्ग खोलिएको हो। चट्टान काटेर मार्ग खोलिएको सडकको ग्रेड मिलाउने र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउने काम भइरहेको छ।