काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल एयर लाइन्सका जहाजलाई अधिकतम समय उडाउने काम गरेको बताएका छन्।
बुधबार नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टूर एजेन्ट्स (नाट्टा)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले आफू मन्त्री भएपछि जहाजहरु अधिकतम समय आकाशमा उड्ने भएको दाबी गरेका हुन्।
उनले पहिले ४ देखि ५ घण्टा उडान गर्ने निगमको जहाजले अब १० देखि १३ घण्टासम्म उडान गर्न लागेको दाबी गरेका छन्। मन्त्री आलेले भने, ‘जहाजहरु अहिले ग्राउन्डेड होइन, अधिकतम समय आकासमा उडाउने काम भएको छ।’
नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गर्न लागेको र अन्य गन्तव्य समेत उडान विस्तार हुने क्रममा रहेको मन्त्री आलेको भनाइ छ। उनले थाइल्याण्डको बैंककमा हप्तामा दुई र साउदी अरेबियाको रियादमा हप्तामा तीन वटा उडान भर्ने गरी तयारी भइरहेको जानकारी समेत दिए।