काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री वितरणमा अवरोध नगर्न आग्रह गरेको छ ।
प्रेसविज्ञप्ति जारी गर्दै आयल निगमले पेट्रोलियम व्यवसायीका मागबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित उपसमितिले अध्ययन गरिरहेकाले हाललाई आन्दोलनका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम विक्रेता, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ तथा नेपाल एलपी ग्यास उद्योग संघका मागबारे आवश्यक निर्णय लिने भन्दै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू हाललाई स्थगन गरी आम उपभोक्ताहरूले पेट्रोलियम पदार्थहरू सरल र सहज रूपले प्राप्त गर्ने व्यवस्था मिलाउनु हुन अनुरोध गर्दछौँ।’
नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम विक्रेताले प्रतिशतमा पाउँदै आएको कमिसन स्थगन गरेपछि व्यवसायीहरू आन्दोलित भएका छन्। निगमले पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म व्यवसायीलाई प्रतिशतमा नै कमिसन दिंदै आएको थियो ।
तर त्यसपछि निगमले पेट्रोलमा मात्रै प्रति लिटर १५ रुपैयाँ मूल्य बढाइसकेको छ । व्यवसायीले पछिल्लो पटक बढाइएको १५ रुपैयाँमा कमिसन पाएका छैनन् ।