नुवाकोट। वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ऋण लिएर खुला सडक र सुरुङ मार्ग निर्माण अघि बढाइने बताएका छन्। नुवाकोटमा शनिबार पीपलटार फुटसल उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पाण्डेले चिनियाँहरुले सुरु गरेको एसियन इन्फ्रास्ट्रक्चर बैंकबाट १ प्रतिशत व्याजमा ऋण लिएर सुरुङमार्ग र रणनीतिक सडक निर्माण गरिने बताएका हुन्।
उनले नुवाकोटको गुर्जेभन्ज्याङ मुनि छहरे–टोखा सुरुङ, खुर्कोट–चियाबारी सुरुङ सिन्धुलीमा, धादिङको हुदीखोला–चितवन शक्तिखोर जोड्ने, काठमाडौंको थानकोट–कुलेखानी सुरुङ अध्ययन गरिसकेकोले निर्माणका लागि एक वर्षभित्र टुंगो लगाउने जानकारी दिए। सोही बैंकमार्फत प्रदेश चक्रपथ बनाउन पनि ऋण मागिएको उनले बताए।
हेटौंडा–सिन्धुली–रामेछाप–दोलखा–सिन्धुपाल्चोक–नुवाकोट भएर एउटा चक्रपथ राष्ट्रिय राजमार्ग भएर जोड्ने गरी कार्य अगाडि बढाएको मुख्यमन्त्री पाण्डेले बताए।
विशेषगरी डोजर लगाएर सडक बनाउने प्रवृत्ति हटाएर दीगो सडक निर्माण गर्नुपर्नेमा उनले जोड दिए। सीमित स्रोत साधनबाट राम्रो काम गर्नुपर्ने अवस्था रहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो। उनले राजमार्गले सडक जाम नथेग्ने भएकाले अब त्यसको पारि छुट्टै मार्ग बनाउनपर्ने बताए।