काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका छन्। गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
आज बिहानदेखि काठमाडौँको मौसम पुनः धुम्म भएका कारण आन्तरिकतर्फका ३१ उडान अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ताले जानकारी दिए। अन्य दिनको जस्तो आज असर नरहेको र मौसममा सुधार हुने बित्तिकै उडान तथा अवतरण नियमित हुने बताइएको छ।
भिजिबिलिटी कम हुँदा शनिबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरण प्रभावित भएका थिए।