काठमाडौं। हुम्लासहित कर्णली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान ठप्प भएको छ। हुम्ला, मुगु, जुम्ला र डोल्पामा निमित रुपमा रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एयरलाइन्स पर्यटक बोक्न पूवतर्फ लागेपछि सवमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका छन्।
सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम विशेषले जिल्लाबाहिर जान र जिल्ला पुग्न थप समस्या भएको हो। सिमकोट विमानस्थलका अनुसार सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतवारदेखि हुन नसकेको हो। उडान ठप्प भएपछि जिल्ला बाहिर जाने यात्रुहरु अलपत्र बनेका छन्।
निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि कर्णालीका हिमाली जिल्लामा उडान हुन पाएको छैन। पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको स्थानीय बासिन्दाको गुनासो छ।
निजी एयरलाइन्सले हुम्लामा दैनिक एक–एक उडान अनिवार्य गर्नुपर्ने नियम भएपनि उक्त नियमलाई उल्लङ्घन गरी उडान ठप्प गरेका बताइएको छ।