काठमाडौं। विगत लामो समयदेखि चर्चामा रहेको चोभार सुक्खा बन्दरगाह मंगलबारबाट सञ्चालनमा आएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समितिले गत साउनमै भौतिक कार्य सम्पन्न गरेको चोभार सुक्खा बन्दरगाहको मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी सञ्चालनमा ल्याएका हुन्।
वीरगञ्जबाट डिजिटल लक लगाएर आएको मालबाहक कन्टेनर प्रधानमन्त्रीले उद्घाटन गरी बन्दरगाहमा प्रवेश गराएका छन् ।
योसँगै अब चोभार सुख्खा बन्दरगाहले औपचारिक रुपमै मालवस्तु आयातनिर्यातको भन्सारीकरणको अनुमति पाएको छ । कुल २२० रोपनी क्षेत्रफलमा बनेको चोभार सुख्खा बन्दरगाह २०७५ असारदेखि निर्माण थालनी भएर २०७८ असारमा सम्पन्न भएको हो । यस बन्दरगाह कुल १ अर्ब ५० करोड रुपैयाँ लागतमा तयार भएको हो ।
बन्दरगाहमा एकैपटक ५ सय कन्टेनर तथा मालवाहक ट्रक अट्ने क्षमतामा रहेको बताइएको छ ।