काठमाडौं। पर्वतको मालढुंगादेखि बारी बेनीसम्म जोड्ने सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ। १३ किलोमिटर लम्बाइको सडक स्तरोन्नतिका लागि बन्द गरिने भएको हो।
सवारीधासन नियमित चल्दा कालोपत्रे र स्तरोन्नतिको काम प्रभावित हुने भएकाले आगमी वैशाख ३ देखि २५ गतेसम्म सडक अवरुद्ध हुने बताइएको छ।
प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालाबीच भएको बैठकले बिहान ११ देखि अपराह्न ४ बजेसम्म उक्त सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। सवारी सञ्चालनमा रहेकै बेलामा काम गर्दा दुर्घटनाको जोखिम बढेको, कालोपत्रे र स्तरोन्नतिको काम प्रभावित भएका भन्दै बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेको थियो।
सडक बन्द गरिने समयमा सवारी साधनको डाइभर्सन र व्यवस्थापनका लागि सुरक्षा निकाय तथा सहजीकरणका लागि म्याग्दी, मुस्ताङ, बागलुङ र कास्की जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने निर्णय पनि भएको छ। एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गर्ने निर्णय भएको बताइएको छ।
५२ करोड ८६ लाख रूपैयाँमा ठेक्का सम्झौतामा सडक बिस्तार, पर्खाल र नाली निर्माणको काम चलिरहेको छ। कालोपत्रेसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई स्तरोन्नति गरी नौ मिटरको बनाइने जनाइएको छ।