काठमाडौं। राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन्। हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एअरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका छन्।
हुम्लाको दक्षिण भेगका नागरिक गाडीमार्फत जिल्लाबाहिर जान सके पनि सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका नागरिकलाई जिल्लाबाहिर जान थप समस्या भएको छ। उडान प्रभावित हुँदा सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम विशेषले जिल्लाबाहिर जान तथा जिल्ला पुग्न थप समस्या भएको हो। सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन भने अन्तरजिल्ला जोड्ने एक मात्रै हवाई सेवाको उडान आइतबारदेखि हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ। उडान ठप्प हुँदा जिल्लाबाहिर जाने यात्रु सिमकोट विमानस्थलमै अलपत्र परेका हुन्।
नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुलाई समेत चर्को होटल भाडा तिरेर बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन्। पर्यटक आउने मौसममा त निजी एअरलाइन्सले हुम्लालाई बेवास्ता गर्ने गरेको उनीहरुको दाबी छ निजी एअरलाइन्सले हुम्लामा दैनिक एक–एक उडान अनिवार्य गर्नुपर्ने नियम भएपनि त्यसलाई उल्लङ्घन गरी उडान ठप्प गरेको बताइएको छ।
निजी जहाज लुक्ला, पोखरा, जोमसोमलगायत पर्यटकीय स्थानमा व्यस्त भएपछि हुम्लामा उडान हुन नपाएको बताइएको छ। हुम्लीहरूले अहिले नेपालगञ्ज–सुर्खेतमा रहेका होटलहरुमा चर्को भाडा तिरेर टिकटका लागि भौँतारिरहेका छन्। कहिले महँगो भाडा तथा कहिले जहाज टिकट नपाउने समस्या हुम्लीका लागि नौलो होइन। यहाँको बिरामीलाई समेत उपचार गर्न जिल्लाबाहिर जानसमेत समस्या भएको छ। हुम्लामा उडान नहुँदा सम्बन्धित निकायको ध्यान जान नसकेको भन्दै हुम्ली नागरिकले आक्रोश व्यक्त गरेका छन्।