काठमाडौं। म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ को दुर्गम कुईनेखानी गाउँमा सडक पुगेको छ। रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक पुगेको हो।
थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार ९१ लाख १२ हजारको लागतमा उक्त सडक निर्माण गरिएको हो। सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट ५० लाख र गाउँपालिकाको ३३ लाख ५० हजार लगानी भएको गाउँपालिकाले जनाएको छ।
स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज बिक्री वितरण गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ। सडक स्तरोन्नतिपछि सो सडकमा बाहै्रमास यातायातका साधन सञ्चालन गर्न सकिनेछ। उक्त सडकको हालै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा र रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्तरूपमा उद्घाटन गरेकाछन।