काठमाडौं। म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती कालोपत्रे सडक आयोजनामा एक महिनापछि निर्माण ब्यवसायी काममा फर्किएको छ।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तर्गत पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेको योजनामा निर्माण कम्पनी एपेक्स खड्का कृष्ण जे.भी पुनः काममा फर्किएको हो।
निर्माण कम्पनीका साझेदारहरुबीच आर्थिक लेनदेनको बिषयमा विवाद भएपछि एक महिनादेखि कार्यक्षेत्रमा सम्पूर्ण काम ठप्प भएको थियो।
योजनालाई अधकल्चो बनाएर छाडेपछि जनप्रतिनिधि, राजनीतिक दल र कार्यालय प्रमुखको सक्रियतामा निर्माण कम्पनीलाई तत्काल कार्यक्षेत्रमा फर्कन ताकेता गरिएको थियो।
दशक अघि ट्रयाक खुलेको यो सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे बन्दा स्थानियबासीलाई सास्ती हुँदै आएको छ। अब निर्माण व्यवसायी काममा फर्किएसँगै सडक निर्माण हुने र आजतजावतमा सहज हुने आश गरेको उनिहरु बताउछन्।