धनुषा। हुलाकी राजमार्ग अन्तगर्त भारतीय सीमा जोड्ने जनकपुरधाम–भिट्ठामोड चार लेन सडकखण्ड निर्माण कार्य सम्पन्न नहुँदै भत्किन थालेको छ । एकातर्फ निर्माणधीन सडक अर्को लेनतर्फ भत्किँदै गएको हो ।
कम गुणस्तरीय निर्माण सामग्री प्रयोग र निर्माण कार्यमा लापरबाही गरिँदा निर्माण जारी रहेकै समयमा सडक भत्किन थालेपछि स्थानीय आक्रोशित बनेका छन् ।
तीन वर्षमा सम्पन्न गर्नेगरी ०७३ सालमा सम्झौता गरिए पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा पुनः थप तीन वर्षका लागि सम्झौता थप गरिएको थियो । र पनि निर्माण कार्य जारी रहेकै समयमा सडक भत्किन थालेको छ ।
चार लेन भनिएका सडक खण्डमा अधिकांश ठाउँमा र सडक छेउमा कालोपत्रे, कल्भर्टको काम सुरु नै गरिएको छैन भने पुललगायत सडक संरचना निर्माणको २५ प्रतिशत प्रगति पनि भएको देखिँदैन ।
धनुषा र महोत्तरीका प्रशासनको आर्थिक चलखेलले गर्दा गुणस्तरहीन काम भइरहेको भन्दै निर्माण कम्पनीलाई सरकारले समयमै सचेत गराई गुणस्तरीय काम नगरे स्थानीयबासी आन्दोलनमा उत्रिने बताएका छन् ।